साँफेबगर नगरपालिकाको पुनर्संरचनाबारे सुझाव: चौरपाटी गाउँपालिकालाई गाभ्ने प्रस्ताव
अछाम । संघीय मामिला मन्त्रालयको परिपत्र अनुसार स्थानीय तहको सीमा हेरफेर र संख्या घटाउने विषयमा अछामका स्थानीय तहसँगको छलफल तीव्र हुँदै गएको छ । जिल्ला समन्वय समितिमा सम्पन्न छलफलमा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको भविष्यका बारेमा विभिन्न विकल्प र सुझावहरू प्रस्तुत गरिएका छन् ।
छलफलका क्रममा मुख्य सुझावको रूपमा साँफेबगर नगरपालिकाको हालको संरचनालाई यथावत राख्नुपर्ने माग गरिएको छ । यद्यपि सरकारको नीति अनुसार संख्या घटाउनै पर्ने अवस्था आएमा विकल्पको रूपमा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको पूरै भूभागलाई जोडेर एउटै पालिका बनाउन सकिने प्रस्ताव अघि सारिएको छ ।
सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता पुऱ्याउने उद्देश्यले भूगोल र निकटताका आधारमा अन्य छिमेकी पालिकाका वडाहरूलाई पनि साँफेबगरमा गाभ्न सकिने नगर प्रमुख राजेन्द्र कुँवरले सुझाव दिनुभएको छ । यस अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ (गाज्रा) र २ (जनालीकोट) साँफेबगरसँग नजिक पर्ने भएकाले तिनलाई समावेश गर्न सकिने बताइएको छ । त्यसैगरी भूगोलको हिसाबले साँफेबगरसँगै जोडिएको मेल्लेख गाउँपालिकाको वडा नम्बर ८ (हात्तीकोट) लाई पनि यसै नगरपालिकामा समेटेर एउटा सक्षम पालिका बनाउन सकिने आधार प्रस्तुत गरिएको छ ।
नेपाल सरकारको नीति र भौगोलिक अवस्थितिलाई ध्यानमा राख्दै सेवाग्राहीको हितका लागि यी सुझावहरू जिल्ला समन्वय कार्यालयमा पेश गरिएको प्रमुख कुँवरको भनाइ रहेको छ ।
