विद्यालय तथ्यांक व्यवस्थित गर्न मंगलसेनका शिक्षकलाई तालिम
अछाम । विद्यालयका शैक्षिक र भौतिक विवरण र तथ्यांकहरुलाई व्यवस्थित बनाउनका लागि मंगलसेन नगरपालिकाले सूचना प्रविधि स्रोत शिक्षकलाई क्षमता विकासको तालिम दिएको छ । नगरपालिकामा रहेका सामुदायिक र निजी दुवै किसमका ४७ विद्यालयका शिक्षहरुलाई शिक्षा, युवा तथा खेलकुद शाखाले तालिम प्रदान गरेको हो ।
नगरमा रहेका माध्यामिक र आधारभूत विद्यालयका सूचना प्रविधि स्रोत शिक्षकहरुलाई नगरेको हलमा दुई दिनसम्म तालिम दिइएको हो । नगरका विद्यालयहरुको तथ्यांक र विवरणहरुलाई अझै व्यवस्थित बनाउनका लागि क्षमता विकासको तालिम दिइएको नगरका शिक्षा अधिकृत जगत बहादुर रावलले जानकारी दिनुभयो । तालिमका क्रममा श्रोत शिक्षहरुलाई विद्यालयका विवरणहरु एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गर्न प्रयोगात्मक रुपमा तालिम दिइएको बताइएको छ ।
इमिसको बारेमा नगरका शिक्षा अधिकृत जगत बहादुर रावल, प्राविधिक सहायक दीपक प्रसाद भणरीले सहजिकरण गर्नुभएको थियो । शिक्षहरुले इमेल, हवाट्सएप लगायतका सूचनाको आदानप्रदानको सहजताका लागि नगरका सूचना प्रविधि अधिकृत पौरख बोगटीले सहजिकरण गर्नुभएको थियो । सहजिकरणका क्रममा प्रस्तुतिकरण र प्रयोगातमक रुपमा सहजिकरण गरिएको थियो ।
शुक्रबार तालिमको उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अथिति तथा नगरप्रमुख पदम बहादुर बोहराले विद्यालयको तथ्यांक र विवरणलाई व्यवस्थित बनाउनुपर्ने भनाइ राख्नुभयो । विद्यालयका तथ्यांकसँगै समग्र सुधारका क्षेत्रमा शिक्षकसँगै अन्य पक्षले सहयोग गर्नुपर्ने भनाइ राख्नुभयो । विद्यालय सुधारले सबै क्षेत्रमा सुधारले प्रेरणा दिने भन्दै नगरपालिकाको गुणस्तरीय शिक्षामा ध्यान दिएर काम गरिरहेकोले जिम्मेवारी पूरा गर्ने र सहयोग गर्नुपर्ने निर्देशन समेत दिनुभयो ।
शनिबार तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख संगीता रावल कुमारी विद्यालयलाई व्यस्थित, अनुशासित बनाउनका लागि शिक्षकहरुलाई निर्देशन दिनुभएको छ । विद्यालय अनुगमनका क्रममा कतिपय विद्यालयको नाजुक अवस्था भएकोले यसमा शिक्षकहरुको जिम्मेवारीमा समेत प्रश्न उठेको भनाई राख्नुभयो । विद्यालयका शिक्षक र कर्मचारीहरुले जिम्मेवारी अनुसार काम नगर्नेलाई अनुगमनपछि उपयुक्त निर्णय गर्ने भनाई राख्नुभयो ।
तालिम समापनका क्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले शिक्षकले प्रविधिको अधिकतम उपयोग गरेर विद्यालयमा कार्यान्वयनमा जोड दिनुभयो । शिक्षकहरुले तोकिएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र उपयुक्त नतिजा ल्याउन केन्द्रित हुन आग्रह गर्नुभयो । तोकिएको जिम्मेवारी पूरा नगर्ने शिक्षक र विद्यालय कर्मचारीलाई आवश्यक कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइने भनाइ राख्नुभयो । मंगलसेन नगरपालिका–८ का अध्यक्ष ज्ञानेन्द्र बोहराले सिकेका कुरालाई व्यवहारमा लागू गरेर शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नुभयो ।
सोही अवसरमा हालै प्रकाशित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा प्रथम मंगलुसेन नगरपालिकामा प्रथम, दित्तिय, तृतिय र सान्तवना हुने विद्यालयका शिक्षकलाई माला, टीका लाएर सम्मान गरिएको छ । शुक्रबार बेलुकी प्रकाशित नतिजा अनुसार नगरका ११ माध्यामिक विद्यालय मध्येमा बाँडाको यशोधरा मावि प्रथम, बोगटीगाउँको राधा मावि दोस्रो, मंगलसेनको षोडषादेवी मावि तेस्रो र छापडाँडाको पार्वती मावि पाँचौ स्थानमा रहेको छ ।




