एमाले अछाम अधिवेशन उद्घाटनः मुलुक बनाउने एमाले मात्रै रहेकाे सचिव भट्टकाे दावी
नेकपा (एमाले) अछामको नौं जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार अछाम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । एमाले केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन मंगलसेनको खुलामञ्चमा सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव भट्टले मुलुकलाई सही दिशामा अघि बढाउन सक्ने योजना नेकपा एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो । एमाले जनताको पाटी भएको भन्दै देशको विकास र नागरिकमा समृद्धि ल्याउन एमालेले मात्रै सक्ने भएकोले त्यसलाई असफल बनाएर राज्य कमजोर बनाउन केही व्यक्ति र समूह केन्द्रित भएको भनाइ राख्नुभयो । एमाले पाटी र नेतृत्वसँग सही विचार र प्रष्ट दृष्टिकोण भएकोले यसलाई पराजित गर्नका लागि एमाले अध्यक्ष ओली र अरु नेताहरुलाई घेराबन्दीमा पार्ने प्रयास भएको भट्टको भनाई छ ।
“जो व्यक्तिसँग सही विचार र एजेण्डा हुन्छ, त्यो व्यक्ति जहाँपनि एक्लो हुन्छ, त्यसैले केपी ओली नेता मात्र नभइ विचार पनि हो । उहाँलाई आलोचना गरिरहेका छन् ।” भट्टले भन्नुभयो । एमाले पाटी र नेतृत्व वर्गमा आक्रमणको प्रयास हुनु देशभित्र र विदेशीबाट पनि भएको दावी उहाँको छ ।
नेता भट्टले आफ्नो पहलमा सुदूरपश्चिमा गौरवका योजना सुरु भएर काम भइरहेको बताउनुभयो । सेती लोकमार्ग, बुढीगंगा जनलविद्युत, सुख्खा बन्दरगाह, औधोगिक विकास भएको बताउनुभयो । अहिलेको विकास मात्र पर्याप्त नभएको भन्दै सुदूरपश्चिमको विकासमा आफ्नो सक्रियता सधै रहिरहनेमा उहाँको भनाइ छ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वलाई अग्रिम शुभकमना दिँदै सचिव भट्टले अछाम जिल्ला अहिले विशेष परिस्थितिमा रहेकाले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ । अन्तिम प्रयाससम्म सहमतिकै आधारमा जिल्ला नेतृत्व चयन गर्नुपर्नेमा नेता भट्टको धारणा रहेको थियो ।
कार्यक्रममा एमाले केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा, केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ मा इन्चार्ज कमल तिमिल्सेना, क्षेत्र नं. २ का इन्चार्ज यज्ञ बोगटी, पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी, केन्द्रिय सल्लाहकार परिषद् सदस्य भीमबहादुर कडायतले शुभकामना मन्तव्य राख्नुभयाे । यस्तै पाटीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, नेपाली काँग्रेसका जिल्ला सहसचिव दिनेश स्वार, राष्ट्रिय स्वातन्त्र पार्टीका दिपक साउँद, संविधानसभा सदस्य भैरे कामी, भरत साउद लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । एमाले पार्टी कार्यालयबाट बाजागाजासहितको र्याली मंगलसेन बजार परिक्रमा गरेपछि खुला मञ्चमा सभा भएको थियो ।
एमाले जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहराको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला उपाध्यक्ष बलबहादुर कुँवरले स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव भीमबहादुर रावलले गर्नुभएको थियो । उद्घाटन सकिएपछि आइतबार बिहानबाट पाटीको हलमा बन्दसत्र सुरु हुने बताइएको छ । अधिवेशनका लागि जिल्लाका विभिन्न वडा, पालिका र क्षेत्रबाट चारसय भन्दा बढी प्रतिनिधि चुनिएर आएका छन् । प्रतिनिधिहरुले आगामी कार्यकालका लागि नयाँ जिल्ला कमिटी चयन गर्ने छ ।
