छाउपडी कुरीति अन्त्यमा पहल: वडा तहसम्मै समिति

अछाम । पूर्ण रुपमा रूपमा अन्त्य हुन नसकेको छाउपडी कुरीतिका विरुद्ध अछामका पालिका प्रमुखहरूले साझा पहल गर्नेमा एकमत भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय र सरोकारवालाहरुको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा छाउपडी कुरीति अन्त्यको अभियानलाई संयन्त्र बनाएर प्रभावकारी बनाउन एकमत भएका हुन् ।
जिल्ला, पालिका र वडा तहमा सामाजिक क्षेत्र तथा समन्वय समिति निर्माण गरेर स्थानीय तहका जनप्रतिनिधिहरुले छाउपडी कुरीति अन्त्यमा आफूहरु सक्रिय हुनेमा जोड दिएका छन् । महिनावारी तथा सुत्केरीका समयमा महिला तथा किशोरी माथि विभेदसँगै सामाजिक समस्याका बारेमा स्थानीय तहले प्राथमिकतामा राख्ने भएको छ । उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संस्थाहरु र स्थानीय नागरिक समेत जोडिने साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो । मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा छाउपडी कुरीतिसँगै महिला माथि हुने सबै प्रकारका विभेदमा सबै पक्ष एकजुट भएर गएकोले सफलता प्राप्त हुने बताउनुभयो ।

अभियानका क्रममा सचेतना गर्ने, गोठ भत्काउने, कानुनी कार्वाहीको प्रक्रियामा समेत जाने बारेमा बैठकमा छलफल भएको छ । यस्तै छाउपडी कुरीति अंगाल्नेलाई सामाजिक सुरक्षा भत्ता, विभिन्न सिफारिस र सेवा रोक्नेमा पनि जनप्रतिनिधिहरु सहमत भएका छन् । कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले तत्कालै आफ्नो नगरमा पहिलो संयुक्त बैठक राखेर यसमा उपयुक्त निर्णय लिने बताउनुभयो । स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षित आवास, महिला तथा बालबालिका सुरक्षासम्बन्धी कार्यक्रमलाई छाउपडी कुरीतिको अन्त्य अभियानसँग जोडेर जाने प्रमुख जिल्ला अधिकारी आनन्द सारुको भनाइ छ ।
छाउपडी कुरीतिका विरुद्धमा स्थानीय तहले आगामी दिनमा स्वास्थ्य संस्था, विद्यालय, आमा समूह र स्थानीय सञ्चार माध्यमलाई सक्रिय बनाउने, प्रत्येक पालिका र वडा तहमा समिति गठन र परिचालनसँगै दीर्घकालीन बनाउन वार्षिक नीति, योजना र कार्यक्रमलाई प्रभावकारी बनाइने बताइएको छ । साँफेबगर नगरप्रमुख कुँवरले छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने भन्दै रुपान्तरण कक्षा, स्थानीय शिक्षक र विद्यार्थीको परिचालनमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
महिनावारी भएका बेलामा घरभन्दा अलग्गै बसेका कारण महिला तथा किशोरीहरुले ज्यान गुमाउनु परेको, विभिन्न हिंसाका सहन बाध्य भएको बहस चलिरहेको छ । महिनावारी भएको समयमा छाउगोठमा बसेको वा बस्न बाध्य पारेकोलाई तीन महिना कैद वा तीन हजार वा दुवै हुने सजायको व्यवस्था भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । महिनावारी भएका बेलामा छाउगोठमा बस्ने परम्परामा व्यापक परिवर्तन आइरहेको भएपनि यसको अन्त्यमा सरोकारवाला निकायले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, अछामद्धारा आयोजित उक्त बैठकमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चारै सुरक्षा निकाय, कार्यालय प्रमुखहरु, सामाजिक संस्था र पत्रकारहरुको सहभागितामा रहेको थियो । बैठकमा पत्रकारको तर्फबाट शिवराज ढुंगाना, मेनुका ढुंगाना, टेकबहादुर थापा र सुशिल भण्डारीले विभिन्न सुझाव राखेका थिए ।