रामारोशन गाउँपालिकाको बजेट ५४ करोड ३६ लाख (पूरा विवरण सहित)

अछाम । जिल्लाको रामारोशन गाउँपालिकोले आगामी आर्थिक वर्षको लागि ५४ करोड ३६ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । शनिबार बसेको गाउँसभामा उपाध्यक्ष सृजना बुढाद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि अनुमानित आयव्यय ल्याएको छ ।
आउँदो आर्थिक वर्षमा खर्चका २१ शीर्षकमा उक्त रकम खर्च गर्नेगरी बजेट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । खर्चको शीर्षक अनुसार सबैभन्दा बढी संघीय ससर्तको २४ करोड २९ लाख, सुशासन तथा संस्थागत विकासमा १० करोड ७८ लाख रकम विनियोजन गरिएको छ । यस्तै शिक्षामा चार करोड ३० लाख, संघीय विशेष अनुदानमा एक करोड ६५ लाख, स्वास्थ्यमा एक करोड ६० लाख, वडामा एक करोड सात लाख, संघीय समपुरक अनुदानमा एक करोड ४० लाख, प्रदेश समपुरक अनुदान एकरोड २२ लाख रकम रहेको छ ।
आर्थिक विकासमा ३० लाख ५० हजार, वन तथा वातावरण व्यवस्थापन र महिला बालबालिकामा २०/२० लाख, अध्यक्ष तथा उपाध्यक्ष लक्षित कार्यक्रममा ४० लाख रकम रहेको छ । यस्तै न्यायिक समितिमा पाँच लाख, पञ्जिकरण दुई लाख ५० हजार, जग्गा प्राप्तिमा १५ लाख, दुई वडाका कार्यालय भवन निर्माण ६० लाख, स्वास्थ्य चौकी भवन निर्माण ६० लाख, भटाकाटिया स्वास्थ्य चौकी निर्माणमा ३० लाख, प्रदेश सशर्त अनुदान ९० लाख, प्रदेश विशेष अनुदान ६० लाख व्ययको अनुमान गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र भौतिक निर्माणसँगै रामारोशनको पर्यटनको विकासमा बजेट बढी केन्द्रित भएको अधिकृत भण्डारीको भनाई छ । बजेट गाउँसभाले पारित गरिसकेकोले एक हप्तामै बजेट पुस्तिका प्रकाशन गर्ने तयारी रहेको बताइएको छ । अछामका चार नगरपालिका र छ गाउँपलिका गरेर १० स्थानीय तह मध्येमा रामारोश गाउँपालिका यस पटकमा बजेट ल्याउने जिल्लामा पहिलो पालिका भएको छ ।
अन्य स्थानीय तह मध्येमा पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ भने अन्य पालिकाहरु बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा रहेका छन् । हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
उक्त बजेट प्रस्तुत तथा पारितका क्रममा गाउँपालिका अध्यक्ष मानबहादुर साउँद, उपाध्यक्ष बुढा, प्रमुख प्रशासकीय प्रमुख भण्डारी, कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरूको सहभागिता रहेकाे थियो ।