रामारोशनमा तथ्याङ्क सुद्धिकरण र सत्यापन कार्यक्रम प्रारम्भ

मंगलसेन । जिल्लाको रामारोशन गाउँपालिकामा विद्यालय तहको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा शुद्धीकरण तथा तथ्याङ्क सत्यापन कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा २३ विद्यालयको सहभागितामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुख्य नियन्त्रक टोलीले प्रत्यक्ष रूपमा तथ्यांकको प्रमाणिकरण प्रारम्भ गरेको हो ।

गाउँपालिका अध्यक्ष मानबहादुर साउँदको अध्यक्षतामा शुरु भएको कार्यक्रममा अतिथिमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको उपस्थिति रहेको थियो । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले गर्नुभएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रशिक्षक प्रवीण भट्टराई र सुशील पौडेलले सहजिकरण गरिरहनुभएको छ ।

गाउँपालिकाका विद्यालयका विद्यार्थी, शिक्षक, दरबन्दी, भौतिक संरचना तथा शैक्षिक गतिविधि सम्बन्धी विवरण अद्यावधिक गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तथा तथ्याङ्क फोकल शिक्षकलाई प्रणालीमा तथ्याङ्क प्रविष्टि, शुद्धीकरण र प्रमाणीकरणसम्बन्धी प्राविधिक सहजीकरण थालनी गरिएको छ । पहिलो समूह अन्तरगत पहिलो दिन बुधबार गाउँपालिकामा रहेका २३ विद्यालयको तथ्यांक अद्यावधिक गरिएको शिक्षा अधिकृत रावलले जानकारी दिनुभयो । उक्त पालिकामा हाल आठ हजार ५१५ कुल संख्या पुगेको बताइएको छ ।

विद्यार्थीहरुको तथ्याङ्क शुद्धिकरणपछि दरबन्दी पुनर्वितरण, विद्यालय समायोजन र भावी कार्यभार निर्धारणका लागि स्पष्ट आधार तयार हुने पालिकाले जनाएको छ । कार्यक्रमले पालिका भित्रका विद्यालयमा देखिएको शिक्षक अभाव तथा विद्यार्थी चाप व्यवस्थापनका लागि ठोस कार्यदिशा तय गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । रामारोशन शिक्षा शाखाले पछिल्लो समयमा विद्यालयको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको गतिविधिलाई बढाउँदै लिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!