अछाममा चुनाव लड्न उम्मेद्वारी दिने यी हुन् !

मंगलसेन । अछामका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवै क्षेत्रमा मनोनयन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको हो ।

अछाम निर्वाचन क्षेत्र नं. १ मा सात राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार गरी कुल आठ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल, नेपाली कांग्रेसबाट भरतकुमार स्वार र नेकपा (एमाले) बाट दीपकबहादुर साउँदले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रबहादुर शाह, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र शाही, नेकपा माओवादी केन्द्रबाट राजेन्द्रबहादुर कुँवर तथा स्वतन्त्र उम्मेदवारका रूपमा भीमबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री झपटबहादुर बोहराले यसअघि टिकट पाउनुभएको भए पनि प्रगतिशील लोकतान्त्रिक पार्टी एमालेमा समाहित भएपछि बोहरा हटेर दीपकबहादुर साउँदलाई उम्मेदवार बनाइएको हो । भीम रावल र भरतकुमार स्वारले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए भने साउँदले २०७० सालमा भीम रावलसँगै संविधानसभा निर्वाचन लड्नुभएको थियो ।

उता अछाम निर्वाचन क्षेत्र नं. २ मा भने नौ राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत राइभान कुन्जेडाका अनुसार नेपाली कांग्रेसबाट जिल्ला पार्टी सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी र नेपाली कम्युनिष्ट पार्टीबाट बलबहादुर कुँवरले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपाबाट शरदसिंह भण्डारीले टिकट पाए पनि बलबहादुर कुँवर नेपाली कांग्रेसबाट विद्रोह गर्दै नेकपामा प्रवेश गरेपछि कुँवरकै नाममा उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुपदेव शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट झंकरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट शेरबहादुर विक तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्पराज न्यौपाने र उज्यालो नेपालका राजेश रावलले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । मनोनयन दर्ता सम्पन्न भएसँगै अछामका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!