सर्पले टोकेर वयालाकी एक महिलाको मृत्यु

अछाम । सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घर नजिकै सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।

अध्यक्ष कुँवरका अनुसार खेतबाट फर्कने क्रममा मंगलबार बेलुकी करिब ६ बजेतिर घर भन्दा पछाडितिर सर्पले टोकेको हो । सर्पले टोके लगत्तै छिमेकी पञ्चदेवल नगरपालिका–४ कालिकास्थानमा रहेको कुच्ची स्वाथ्य चौकीमा उपचारपछि थप उपचारका लागि राती नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो । जिल्ला अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
मृतकका पति दिपेन्द्र विष्ट रोजगारीको सिलसिलामा विदेश र दुई छोरा रहेका छन् । अल्पायुमै असामयिक घटना भएको भन्दै धेरैले सामाजिक सञ्जालमा श्रद्दाञ्जली व्यक्त गरिरहेका छन् ।