चाडपर्व मर्यादित र शान्तिपूर्ण मनाउन अछाम प्रशासनको आग्रह (सूचना सहित)

बडादशैं, तिहार लगायतका चाडपर्व मर्यादित, सुरक्षित र अनुशासित भएर मनाउन जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले सार्वजनिक सूचना जारी गर्दै पर्वका समयमा शान्ति सुरक्षा कायम गर्न सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गरेको हो ।
जिल्ला प्रशासनले पर्वलाई आपसी सद्भाव, सहयोग, सहिष्णुता र सामाजिक अनुशासनसहित मनाउन आग्रह गर्दै आतिसबाजी, पटाका, भुइचम्पा वा आगलागी हुने कुनै पनि वस्तुको खरिद, बिक्री, ढुवानी वा प्रयोग नगर्न चेतावनी दिएको छ ।
यस्तै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा म्याद नाघेका सामान बिक्री गर्ने जस्ता उपभोक्ता हित विपरीतका गतिविधिमा संलग्न नहुन पनि प्रशासनले निर्देशन गरेको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन र ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, चाडपर्वको नाममा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न, अनलाइन सपिङ, चिष्ठा, जुवातास वा विद्युतीय माध्यमबाट हुने ठगीविरुद्ध सतर्क रहन र अरुलाई सचेत बनाउन पनि प्रशासनले आग्रह गरेको छ । सार्वजनिक स्थलमा भीडभाड, हुलदंगा वा अवरोध सिर्जना नगरी सभ्य र मर्यादित ढंगले पर्व मनाउन सबैलाई अनुरोध गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
देउसी–भैलो कार्यक्रम बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न, मेला–जात्रा दिनको समयमा मात्र स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर आयोजना गर्न सकिने सूचनामा उल्लेख छ । साथै, पशु वली प्रथाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले प्रचलित कानुन विपरीतका कार्य नगर्न समेत प्रशासनले सचेत गराएको छ ।
पर्वका समयमा आपूर्ति, स्वास्थ्य तथा आपतकालीन सेवा (एम्बुलेन्स, स्वास्थ्यकर्मी, इन्धन, सवारी साधन, स्काभेटर आदि) तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ, “निर्देशन विपरीतका गतिविधि भएमा नजिकैको प्रहरी इकाई वा सुरक्षा निकायमा जानकारी दिनुहोस, कानुन विपरीतका कार्यमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।” केही जानकारी वा सूचना भएमा प्रहरीको निःशुल्क टोल फ्री नम्बर १०० मा सम्पर्क गर्न वा [email protected] मा जानकारी गराउन अछाम प्रशासनले भनेको छ ।