कमलबजार नगरसभाद्वारा प्रदेश र जिसस खारेजको प्रस्ताव पारित

अछाम । कमलबजार नगरपालिकाले प्रदेश र जिल्ला समन्वय समिति (जिसस) को संरचना खारेजीको प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको १६ औं नगरसभाले अनावश्यक संरचनामा राज्यको स्रोत खर्च भएको भन्दै दुईटै संरचना खारेजी गर्न प्रस्तावमा सर्वसम्मत निर्णय गरिएको हो ।
प्रदेशसभा खारेजका लागि कमलबजार नगरपालिका–५ कुइकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले राख्नु भएको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको बताइएको छ । प्रदेश संरचना खारेजीको प्रस्ताव पारित भएपछि वडा नम्बर १० घोडासैनका वडा अध्यक्ष भीम बहादुर विष्टले जिल्ला समन्वय समितिको खारेजको प्रस्तावलाई पनि सर्वसम्मत रुपमा पारित गरिएको नगर प्रवक्ता समेत रहनुभएका तिमिल्सैनाले जानकारी दिनुभयो । तिमिल्सैना नेकपा (एमाले) बाट र विष्ट नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अनावश्यक खर्च मात्र गरिने संरचना, शक्ति र कमिसनमा योजना बाँडफाँड लगायतमा नागरिकमा असन्तुष्टि रहेकोले दुवै संरचना खारेजीको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो । “एक जना वडा अध्यक्षबाट प्रदेश खारेजीको प्रस्ताव आयो, अर्को वडा अध्यक्षबाट जिसस खारेजीको प्रस्ताव आयो नगर सभाले दुवै प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।” नगर प्रमुख ढकालले भन्नुभयो । नगरसभाले खारेजको पारित गरेका निर्णय भने निर्णय पुस्तिकामा लेख्न बाँकी रहेकाे बताइएको छ ।
‘प्रस्ताव राख्दा उपस्थित सबै नगर सदस्यहरुले गडगडाहट ताली बजाएर पास गरेका छन्, प्रदेश र जिसस प्रति कति आक्रोश रहेछ भन्ने जनप्रतिनिधिबाट झल्केको छ, नागरिक तहमा त कस्तो आक्रोश होला ।’ कार्यपालिकाका एक सदस्यले भन्नुभयो । प्रदेश तहको असमान बजेट वितरण, झ्यालबाट योजना आउने, अस्वभाविक खर्च, समन्वयको अभाव, स्पष्ट कार्य नतोकिएको लगायतका कारण प्रदेश र जिसस खारेजको प्रस्ताव पारित गरिएको बताइएको छ ।
यसअघि काँभ्रेको धुलिखेल नगरपालिकाको नगरसभाले प्रदेश तह खारेजीको माग गर्ने निर्णय गरेको थियो । भने कमलबजार नगरपालिका प्रदेश तह खारेजको माग गर्ने दोस्रो नगरमा परेको छ । सोमबारका दिन एक टेलिभिजन अन्तरवार्ताका क्रममा जिसस अछामका प्रमुख ललित बहादुर कुँवरले अहिलेको अवस्थाको जिल्ला समन्वय समिति, प्रदेश तह खारेज हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अन्तरवार्तामा संघ, प्रदेश र स्थानीय तहमा लुट चलिरहेको भनाइ सामाजिक सञ्जालमा अाइरहेको छ ।