लागुऔषध सहित बसका सहचालक अछाममा पक्राउ
मंगलसेन । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बसका सहचालक लागुऔषध सहित अछाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाका अन्दाजी २४ वर्षीय जय विक रहेका छन् ।
विकले लगाएको जिन्सको हाफसर्टको दायाँ खल्तीमा कालो प्लास्टिक भित्र लुकाइ राखेको लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्राम फेला परेको अछाम प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थ नियन्त्रणमा लिइ विकलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
बाजुरा गइरहेको सु.प.प्र.०१–००१ ख ३७९२ नम्बरको बसको अन्तिम सिटमा अचेत अवस्थामा फेला परेका व्यक्तिको बारेमा सोधपुछका क्रममा विकको शंकास्पदपछि शरीर खानतलास गर्दा उक्त पदार्थ भेटिएको बताइएको छ । अचेत भएका बाजुराका ति युवकको आइतबार नै वयालपाटा अस्पताल पुर्याए लगतै डाक्टरले मृत घोषणा गरेका थिए ।
