मङ्गलसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड: षोडशादेवी माविद्वारा शिल्ड कब्जा

अछाम । मंगलसेन नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार मंगलसेनमा सम्पन्न भएको छ । पाँच दिन चलेको प्रतियोगितामा १८ पदक सहित षोडशा देवी मावि प्रथम भएको भएको छ । यस पटकको जितसँगै षोडशा देवी माविले तीन वर्ष लगातार जित निकालेर शिल्ड समेत कब्जा गरेको छ ।

प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र २ कास्य गरी कुल १८ पदक षोडशा देवी माविले जित्दै प्रथम भएको छ । प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ७ कास्य गरी कुल १५ पदकसहित गङ्गा माध्यमिक विद्यालय दोस्रो स्थानमा रहन सफल भएको छ । यस्तै २ स्वर्ण, ३ रजत र ३ कास्य गरी समान ८–८ पदकसहित कालिका माध्यमिक विद्यालय र मङ्गला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

चौथो स्थानमा रहेको कुन्ती माध्यमिक विद्यालय कुन्तीले २ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल ७ पदक प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालय कालागाउँले २ स्वर्ण, १ रजत र ४ कास्यसहित ७ पदक हात पार्यो । यस्तै छैटौँ स्थानको जाल्पादेवी माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक प्राप्त गरेको छ ।

यसैगरी सातौँ स्थानमा रहेको अछाम बहुमुखी क्याम्पसले प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कास्य गरी ३ पदक प्राप्त गरेको छ । यस्तै पार्वती माध्यमिक विद्यालयले १ स्वर्ण र १ कास्य गरी २ पदक प्राप्त गरेर आठौ स्थानमा रहेको छ । प्रतियोगितामा नवौँ स्थानको राधा माध्यमिक विद्यालयले ३ रजत र ४ कास्य गरी ६ पदक जितेको छ । दशौँ स्थानमा रहेको यशोधरा माध्यमिक विद्यालय वस्तीले ३ रजत र २ कास्य गरी ५ पदक हात पारेको छ । भने अङ्क तालिकाको पुछारमा रहेको शिशुसुधार माध्यमिक विद्यालय वस्तीले १ कास्य पदकमा चित्त बुझाएको छ ।

प्रतियोगितामा मंगलसेन नगर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको थियो । पुस २५ गतेबाट मंगलसेन बृहत् खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा भलिबल, कबड्डी, दौड लगायतका विभिन्न विधाका खेलहरूमा प्रतिष्पर्धा भएको थियो । नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छानेर जिल्ला स्तररीय प्रतियोगितामा जाने छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १४ गतेबाट विनायकमा शुरू गरिने यसअघि नै तय भइसकेको छ ।

नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनु भएको प्रतियोगिताको समापन समारोह मङ्गलसेन नगरपालिका सामाजिक विकास समितिका संयोजक बिर्खबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा नगर उपप्रमुख संगीता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा विजयी खेलाडी, विद्यालय तथा निर्णायकहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले कप, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन समारोहको सञ्चालन मङ्गलसेन नगरपालिका शिक्षा शाखा प्रमुख दीपकबहादुर भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!