तुर्माखाँदमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: वसुन्धरा मावि प्रथम

अछाम । तुर्माखाँद गाउँपालिकामा सञ्चालित १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम नतिजा अनुसार वसुन्धरा माध्यमिक विद्यालय थाल्पाटाले १२ पदक प्राप्त गरेर पालिकास्तरमा प्रथम भएको छ ।

वसुन्धराले ८ स्वर्ण, २ रजत र २ कास्य गरी कुल १२ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा कालिकेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँदले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल १७ पदक प्राप्त गर्दै दोस्रो भएको छ । यस्तै सिद्धेश्वरी माध्यमिक विद्यालय, धमालीले ४ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १४ पदक प्राप्त गरी तृतीय स्थानमा आएको छ । भने कामेश्वरी माध्यमिक विद्यालय, रानिवनले ४ स्वर्ण र १ रजत सहित कुल ५ पदक प्राप्त गर्दै सान्त्वना प्राप्त गरेको छ ।

प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.सी.ले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकास तथा अनुशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रतिभावान खेलाडीहरूको पहिचान तथा प्रोत्साहनका लागि आगामी दिनमा गाउँपालिकाले थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

तुर्माखाँद गाउँपालिका-३ का वडा अध्यक्ष काशिराम बुढाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही विशिष्ट अतिथि सहितका अतिथि रहनुभएको थियो । प्रतियोगितामा विभिन्न खेलहरूको संयोजन राष्ट्रिय भलिबल रेफ्री लोकेन्द्र बहादुर साउँदले गर्नुभएको थियो ।

यही पुस २४ गतेदेखि वसुन्धरा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा तुर्माखाँद गाउँपालिकाका माध्यमिक विद्यालयका विद्यार्थीहरूको विभिन्मा सहभागिता रहेको थियो । प्रतियोगिताभर विभिन्न खेल विधामा २६ स्वर्ण, २६ रजत र ३० कास्य गरी जम्मा ८२ पदकका लागि प्रतिस्पर्धा भएको थियो।

विजयी खेलाडी तथा विद्यालयहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र कार्यक्रम अध्यक्षद्वारा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । समापन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!