कार्यसम्पादनमा अछाम प्रशासन ७४ औं नम्बरमा

अछाम । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय, अछाम ७४ औं नम्बरमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको कार्यसम्पादन मूल्यांकनमा ८० दशमलव १८७५ नम्बर प्राप्त गरेको छ । ७७ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय अछाम अन्तिमबाट चौथो स्थान सुदूरपश्चिमका ९ जिल्ला मध्येमा अन्तिम स्थानमा पुगेकाे छ । २०८० को साउन देखि २०८१ असार मसान्तसम्म कार्यसम्पादन सम्झौता अनुसार मूल्यांकन गरेर मन्त्रालयले विवरण सार्वजनिक गरेको बताइएको छ ।
गएको आर्थिक वर्षमा तीन/तीन महिनाको कार्यसम्पादन मूल्यांकन समेत जोडेर अन्तिममा वार्षिक मूल्यांकन सार्वजनिक गरिएको छ । अछामले पहिलो त्रैमासिकमा १९ दशमलव ५ नम्बर, दोश्रो त्रैमासिकमा १५ दशमलव १२५ नम्बर, तेश्रो त्रैमासिकमा १६ दशमलव ०६२५ नम्बर र चौथो त्रैमासिकमा २९ दशमलव ५ नम्बर प्राप्त गरेको छ । अछाम भन्दा पछाडि ७५ औं स्थानमा जिल्ला प्रशासन कार्यालय दैलेख, ७६ औं मा उदयपुर र ७७ औं स्थानमा धनुषा जिल्ला प्रशासन कार्यालय रहेको छ ।
एक आर्थिक वर्षभित्र सम्पन्न गरिने कामको सूचक बनाएर कार्यसम्पादन मूल्यांकन गर्ने गरिन्छ । त्यसका लागि आर्थिक वर्षको शुरुवातमा प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयले हरेक वर्ष कार्यसम्पादनको सम्झौता गर्ने बताइन्छ । प्रशासन कार्यालय अछामको रेकर्ड अनुसार गएको आर्थिक वर्षमा अछाममा २०८० साउन ३० सम्म शिवराम न्यौपाने प्रमुख जिल्ला अधिकारी हुनुहुन्थो । त्यसपछि २०८० साउन ३१ बाट हाजिर भएर २०८१ वैशाख २३ गतेसम्म शरद कुमार पोखरेल प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो । वैशाख २४ गतेदेखि हालसम्म शिव प्रसाद लम्साल प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । यस एक वर्षको अवधिमा सबैभन्दा बढी समय शरद कुमार पाेखरेल अछामकाे प्रमुख जिल्ला अधिकारी रहनुभएको तथ्यांक अनुसार देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा भने अछाम जिल्ला प्रशासन कार्यालयले ९१ दशमलव ८८ नम्बरका साथमा अति उत्कृष्ठ जिल्लामा परेकाे थियो । त्यसबेलामा अछाम प्रशासन ७७ जिल्ला मध्येमा २६ नम्बरमा थियो । उक्त आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र डोटी प्रशासन कार्यालय मात्रै अगाडि रहेका थिए ।
कार्यसम्पादन मूल्यांकनमा रुपन्देही जिल्ला प्रशासन कार्यालय पहिलो, पाल्पा दोश्रो, बाग्लुङ तेश्रो, पश्चिम रुकुम चौथो र मकवापुर जिल्ला प्रशासन कार्यालय पाँचौ भएका छन् । कार्यसम्पादनको अन्तिम स्थान (७७ औं) मा जिल्ला प्रशासन कार्यालय धनुषा परेको छ ।
हरेक जिल्लाको कार्यसम्पादन मूल्यांकन नतिजा