दैलेखको चामुण्डा क्याम्पस पुग्यो अछाम बहुमुखी क्याम्पसमाः उपाध्यक्ष र प्रमुखको स्वागत

अछाम । अध्ययन भ्रमणका क्रममा अछाम बहुमुखी क्याम्पसमा आएको दैलेखको चामुण्डा क्याम्पसको टोलीलाई क्याम्पसले आइतबार मंगलसेनमा स्वागत गरेको छ । चामुण्डा क्याम्पसको सञ्चालक समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको टोलीलाई अछाम बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगाना र क्याम्पस प्रमुख छत्रबहादुर विष्टले स्वागत गर्नुभएको हो ।

क्याम्पसको हलमा एक औपचारिक कार्यक्रममा खादा, टीका लाएर एक औपचारिक कार्यक्रमका साथ स्वागत गरिएको हो । स्वागत कार्यक्रमका अध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ढुंगानाले चामुण्डा क्याम्पस परिवारलाई स्वागत गर्दै आफ्नो क्याम्पसमा सञ्चालक समितिले यस क्याम्पसमा एकताबद्ध रुपमा गरिरहेको कामको बारेमा जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष ढुंगानाले क्याम्पस चलाउनका लागि राजनीति भन्दा समग्र आवश्यकतालाई ध्यानमा राखेर शैक्षिक संस्थाको प्रगतिमा लाग्दा सफलता प्राप्त हुने भनाई राख्नुभयो । चामुण्डा क्याम्पसको प्रगतिको कामना गर्दै विद्यार्थी टिकाउने र विकाउने खालका क्रियाकलाप सञ्चालनमा जोड दिनुभयो ।

चामुण्डा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष निरकबहादुर शाहीले पछिल्लो समयमा विद्यार्थीहरुको भर्ना, क्याम्पस छोड्ने दर बढेको भन्दै यसको समस्या समाधानमा सबैले ध्यान दिनपर्ने भनाइ राख्नुभयो । सामुदायिक क्याम्पसलाई राज्यका निकायले स्पष्ट रुपमा स्वामित्व लिनुपर्नेमा अध्यक्षको भनाइ रहेको थियो । यस्तै चामुण्डा क्याम्पसका प्रमुख प्रेम बहादुर विष्टले पछिल्लो समयमा विद्यार्थीको भर्ना र कक्षा छाड्नेदर उच्च रहेकोले यसको समाधानमा सबैले जुट्नुपर्ने भनाइ राख्नुभयो ।

अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्टले क्याम्पसको समग्र अवस्थाको बारेमा जानकारी दिँदै चामुण्डा क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभयो । यस्तै अध्ययन भ्रमण टोलीलाई क्याम्पस प्रमुख छत्र बहादुर विष्टले शैक्षिक र भौतिक रुपमा अवलोकन समेत गराउनुभएको थियो ।

भ्रमणमा क्रममा चामुण्डा क्याम्पसका क्याम्पस सञ्चालक समिति, अछाम बहुमुखी र चामुण्डा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्वागत कार्यक्रम अछाम बहुमुखी क्याम्पसका सहप्राध्यापक झपटकुमार केसीले गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको चामुण्डा क्याम्पसपनि क्युएएको प्रक्रियामा रहेको बताइएको छ । अछाम बहुमुखी क्याम्पस विश्विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त भएपछि नमुना क्याम्पसको रुपमा चामुण्डा क्याम्पसको टोली आएको बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page