नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंगलसेनकाे तीव्रता
अछाम । मंगलसेन नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई तीव्रता दिएको छ । यही पुस २५ गते मंगलसेनस्थित नयाँ खेलमैदानमा आयोजित प्रतियोगिताका लागि तीव्रता दिएको हो ।
नगरपालिकाको शिक्षा तथा खेलमुख शाखाले प्रधानाध्यापकहरु र खेलकुद शिक्षकहरु, खेलका निर्णायकहरु ल्गायत विभिन्न पक्षहरुसँग बैठक, सामग्री व्यवस्थापन लगायतका कार्यहरु अगाडि बढिरहेको शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । बिहीबार नगरपालिका कार्यालयमा नगरका १२ विद्यालयका खेलकुद शिक्षक र निर्णायकहरुसँगको बैठक सम्पन्न गरेर विभिन्न ११ वटा विषयमा बैठक सम्पन्न गरेको छ । बैठकमै आगामी खेलका लागि खेल तालिका समेत निर्माण गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
बैठकका अध्यक्ष तथा नगर प्रमुख पदमबहादुर बोहराले आफू निकै लामो समयदेखि विद्यार्थीको खेल क्षेत्रलाई नजिकबाट हेरिरहेकोले यसको वृद्धि र विकासमा तत्पर रहेको भनाइ राख्नुभयो । खेलबाट खेलाडीको वृतिविकाससँगै भौतिक निर्माणका क्षेत्रमा काम भइरहेकोले बजेट लगायतका अभावका कारण सबै माग पूरा गर्न तत्काल नसकेको भन्दै आगामी दिनमा पूरा गर्दै जाने भनाइ राख्नुभयो । उहाँले खेल प्रतियोगिताहरुमा विद्यार्थी खेलाडी, निर्णायक, प्रशिक्षक अनुसासित भएर खेल्ने र खेलाउनका साथै दर्शकले संयमित भएर खेल हेर्नका लागि समेत अनुरोध गर्नुभयो ।
बैठकमा नगरका सामाजिक विकास समिति संयोजक तथा नगरपालिका ३ का अध्यक्ष बृखबहादुर बोगटीले सबै जिम्मेवार र कर्तव्यनिष्ठ भएमा राम्रो सफलता प्राप्त हुने भन्दै नगरले सकेसम्म खेल क्षेत्रमा लगानी वृद्धि गरिरहेको भनाइ राख्नुभयो । यस पटकदेखि खेल क्षेत्रलाई योजनाबद्ध रुपमा अगाडि बढाएको भन्दै अझै व्यवस्थित बनाएर लैजाने भनाइ राख्नुभयो ।
उपप्रमुख संगीता रावल सोडारीको उपस्थिति रहेको बैठकको बैठकको सहजिकरण शाखा प्रमुख दीपक भण्डारीले गनुभएको थियो । बैठकमा मंगलसेन नगरपालिकामा सञ्चालित १३ वटा माध्यामिक विद्यालयका खेल शिक्षकहरुको सहभागिता रहेको थियो । नगर स्तरीय प्रथियोगिलाई भव्य रुपमा सम्पन्न गर्नेगरी नगरपालिकाको शिक्षा शाखा क्रियाशील रहेको बताइएको छ ।
