मंगलसेन नगरस्तरीय प्रधानाध्यापकहरुको बैठक सम्पन्नः माघ ३ बाट राष्ट्रपति रनिङ शिल्ड

अछाम । मंगलसेन नगरपालिकास्तरीय प्रधानाध्यापकहरुको बैठक सदरमुकाम मंगलसेनमा बुधबार मंगलसेनमा सम्पन्न भएको छ । बैठकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, विद्यालय लेखापरीक्षण, स्थानीय पाठ्यपुस्तक, वार्षिक परीक्षा, शिक्षक तालिम, मासिक तलबलगायत प्रस्तावमा छलफल गरेको छ ।

बैठकको उद्घाट क्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले नगरको शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै बजेट अभावले भौतिक निर्माणमा सोचे अनुसार काम गर्न नसकेको भनाइ राख्नुभयो । बसाइसराईले शिक्षा क्षेत्रमा समेत गम्भीर प्राभाव परेकोले विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषणमा ध्यान दिनुपर्नेमा नगर प्रमुख बोहराको भनाई छ । अभिभावक, शिक्षक, जनप्रतिनिधि समेत सक्रिय भएर शैक्षिक सुधारमा जोड दिनुभयो ।

बैठकका अध्यक्ष तथा नगरका सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटीले मंगलसेन नगरपालिका शैक्षिक क्षेत्रको विकासमा केन्द्रित भएकोले सबैले जिम्मेवार भएर काम गर्नुपर्ने भनाइ राख्नुभएको थियो । बैठकको सहजीकरण गर्नुभएका नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले विद्यालय, शिक्षक र विद्यार्थीको क्षेत्रमा काम गरिरहेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी रुपमा लैजाने भनाई राख्नुभयो । बैठकमा मंगलसेन नगरपालिकामा रहेका प्राविदेखि माध्यामिक विद्यालयसम्मका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । प्रधानाध्यापकहरुले शिक्षा क्षेत्रका बारेमा केही प्रश्न र जिज्ञासाका बारेमा छलफल गरिएको थियो ।

बैठकका क्रममा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ ३ गतेबाट सञ्चालन गर्ने छलफल भएको छ । यसको तयारीका काम भइरहेको शिक्षा अधिकृत रावलको भनाई छ । अधिकृत रावलले स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियालगायतका बारेमा प्रधानाध्यापकहरुलाई जानकारी दिनुभएको छ । बैठकमा नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक दीपक भण्डारीको पनि सहभागिता रहेको थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page